युएस ओपन : जोकोविच र ओसाका चौथो चरणमा

समाचार

वर्षको अन्तिम ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता युएस ओपनमा विश्व नम्बर एक नोभाक जोकोविच पुरुष एकलमा चौथो चरणमा प्रवेश गरेका छन्।
जोकोविचले जान लेनार्ड स्टुर्फलाई सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेका हुन्।उनले ६-३, ६-३ र ६-१ ले पराजित गरेर अघिल्लो चरणमा स्थान बनाएका हुन्।१८औं ग्रान्डस्ल्याम जित्ने अभियानमा रहेका जोकोविच २०२० मा अपराजित छन्।अब उनले चौथो चरणमा स्पेनका २०औं वरीयताका पाब्लो कारेनो बुस्टासँग खेल्नेछन्।यता महिला एकलमा जापानकी नाओमी ओसाका जित हात पारेर अघिल्लो चरणमा पुगेकी छिन्।चौथो वरीयताकी २२ वर्षीया ओसाकाले मार्ता कोस्टयुलाई ६-३, ६-७ (४-७) र ६-२ ले पराजित गरेकी हुन्।सन् २०१८ की युएस ओपन विजेता ओसाकाले अब चौथो चरणमा १४औं वरीयताकी एनेट कोन्टाभेटसँग प्रतिस्पर्धा गर्नेछिन्।
इंग्लिस क्लब चेल्सीले आक्रामक मिडफिल्डर काई हावर्ट्जसँग पाँच वर्षको सम्झौता गरेको छ।हावर्ट्स जर्मन क्लब वायर लेभरकुजेनबाट ७१ मिलियन पाउन्डमा चेल्सीमा आबद्ध भएका हुन्।जर्मनीका राष्ट्रिय टिमका खेलाडी उनले लेभरकुजनका लागि ११८ खेलमा ३६ गोल र २५ एसिस्ट गरेका थिए।चेल्सीमा आबद्ध भएपछि आफ्नो सपना पूरा भएको हावर्ट्सले प्रतिक्रिया दिएका छन्।’धेरै खुसी र गर्व लागेको छ। चेल्सी जस्तो ठूलो क्लबबाट खेल्ने सपना पूरा भएको छ,’ उनले भने।२१ वर्षीय हावर्ट्स सिजनमा चेल्सीमा आबद्ध हुने सातौं खेलाडी हुन्।यसअघि चेल्सीले फरवार्ड टिमो वेर्नेर र हाकिम जिएटलाई भित्र्याएको थियो। यस्तै डिफेन्डर जाभियर एमबुएम्बा, मालाङ्ग सार, बेन चिलवेल र थियागो सिल्भासँग पनि सम्झौता गरेको थियो।सारलाई लोनमा पठाइएको छ भने एमबुएम्बा चेल्सीको यु२३ टिममा आबद्ध भएका छन्।