सेमिफाइनलमा भिड्न लागेका पिएसजी र लाइपजिग मध्ये एकले कोर्नेछ इतिहास

समाचार

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको प्रतिस्पर्धा मंगलबार रातिबाट सुरू हुँदैछ।पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार राति पौने एक बजे फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन क्लब आरबी लाइपजिगबीच प्रतिस्पर्धा हुँदैछ।पोर्चुगलको लिस्बनमा हुने प्रतिस्पर्धामा जित हात पार्ने टिमले इतिहास बनाउनेछ। दुवै टिम अहिलेसम्म फाइनलमा पुगेका छैनन्।

च्याम्पियन्स लिगमा सेमिफाइनलमा पुग्नु नै पिएसजीको अहिलेसम्मको रेकर्ड हो।लाइपजिग स्थापना भएको एघार वर्षअघि मात्र हो। उसले पछिल्लो दश वर्षमा जर्मनीको पाँचौ डिभिजन खेल्दै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म यात्रा गरेर रेकर्ड बनाइसकेको छ। अझ मंगलबार पिएसजीलाई हराए फाइनलमा पुगे लेपइजिग अर्को अनुपम रेकर्ड बनाउनेछ।

मंगलबारको प्रतिस्पर्धामा पिएसजीका फरवार्ड केलियन एमबाप्पेले पूरा खेल खेल्ने विश्वास गरिएको छ। एक महिनाअघि चोटग्रस्त २१ वर्षीय एमबाप्पे एटलान्टाविरुद्धको क्वार्टरफाइनलको खेलमा अन्त्यतिर मैदान प्रवेश गरेका थिए। चोटले सताउनुअघि उनले सिजनमा ३५ खेलमा ३० गोल गरेका थिए।पिएसजीले अर्का फरवार्ड नेइमारबाट पनि प्रभावशाली खेलको अपेक्षा गरेको छ, जसका कारण क्लब पहिलो पटक च्याम्पियन्स लिगको उपाधि नजिक पुगोस्।नेइमार र एमबाप्पे जस्ता स्टार खेलाडी भएको पिएसजीलाई रोक्न लाइपजिग ‘टिम गेम’ मा केन्द्रीत हुने प्रशिक्षक जुलियन नागेल्सम्यानले बताएका छन्। उनले पिएसजीको काउन्टर आक्रमण उत्कृष्ट भएको बताउँदै लाइपजिङले त्यसका लागि तयार भएको बताए।च्याम्पियन्स लिगमा सहभागी भएको दोस्रो पटकमै अन्तिम चारमा स्थान बनाएको लाइपजिगका लागि गुमाउने केहि छैन। त्यसैले लेपइजिगभन्दा पिएसजी बढी दबाबमा हुनसक्छ।