एक वर्षअघिको तलब दिन क्यानले पठायो आइसिसीमा २२ क्रिकेटरको नाम

समाचार

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेटरले सन् २०१९ को पाउन बाँकी तलब दिनका लागि प्रक्रिया अघि बढाएको छ।क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पठाएको हो।२०१९ मा क्यान निलम्बनको अवस्थामा रहेको हुनाले सो अवधिको तलब आइसिसीले प्रदान गर्नेछ।

त्यसका लागि क्यानले तलब पाउने सबै क्रिकेटसँग एक वर्षको सम्झौता गरेर आइसिसीलाई कागजात पठाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले सेतोपाटीलाई बताए।यसअघि आइसिसीले २०७५ माघमा २१ जना राष्ट्रिय क्रिकेटरलाई सन् २०१७ र १८ को तलब उपलब्ध गराएको थियो। यसपटक २२ जना क्रिकेटरको नाम पठाउनु भनेकोले क्यानले राजु रिजालको नाम थप गरेर पठाइएको हो।

सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको थियो। आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेणीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको थियो।सन् २०२० को तलब भने क्यानले नै दिनेछ। त्यसका लागि क्यानले पुरुष र महिला क्रिकेटरसँग छिट्टै सम्झौता गर्ने जनाएको छ।

आइसिसीमा पठाइएको नामवाली‘ए’ श्रेणी – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने’बी’ श्रेणी– आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललितनारयण राजवंशी र शक्ति गौचन”सी’ श्रेणी– सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारीथप गरिएको – राजु रिजालभिडियो विश्लेषक – रमन सिवाकोटी