९७ अर्ब तिर्न कुनै क्लब तयार भए मात्र मेसीले बार्सिलोना छाड्न सक्ने ला लिगाको स्पष्टोक्ति

खेलकुद

अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना छाड्न ७ सय मिलियन युरोको (९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ बढी) रिलिज क्लज पूरा हुनु पर्ने स्पेनिस ला लिगाले स्पष्ट पारेको छ।७ सय मिलियन युरो तिर्न कुनै क्लब तयार भए ६ पटकका बलन डि’अर विजेता मेसीले बार्सिलोना छाड्न सक्ने ला लिगाले आइतबार जनाएको हो।गत साता ३३ वर्षीय मेसीले आफूले बार्सिलोना छाड्न चाहेको भन्दै क्लबलाई पत्रचार गरेका थिए। त्यसअघि नै बार्सिलोनाले मेसीको सम्झौता सन् २०२१ सम्म रहेकोले ७ सय मिलियन युरोको रिलिज क्लज अघि सारेको थियो।तर मेसीका वकिलले सन् २०१७ मा चार वर्षको सम्झौता गर्दा सिजनको अन्त्यमा क्लब छाड्न सक्ने बुँदा रहेको बताउँदै रिलिज क्लज लागू नहुने दाबी गर्दै आएका छन्।ला लिगाले भने सिजनको अन्त्य जुनको मध्यसम्म मात्र लागू हुने भएकाले सो बुँदाको कानुनी हैसियत सकिएको तर्क गरेको छ।तर मेसीका वकिलले कोरोना भाइरसका कारण सिजनको लिग अगस्टमा मात्र सकिएकाले सो बुँदा अहिले पनि कानुनसम्मत भएको बताउँदै आएका छन्।क्लब छाड्ने विषयमा मेसी र बार्सिलोनाको विवाद बढ्दै जाँदा लिगको प्रशासनिक निकाय ला लिगाले भने बार्सिलोनाको पक्षमा निर्णय लिएको हो। ला लिगाले मेसीको अहिलेको सम्झौता २०२१ सम्म लागु हुने भएकाले उनलाई भित्र्याउन चाहने क्लबले ७ सय मिलियन युरोको रिलिज क्लज पूरा गर्नु पर्ने बताएको छ।ला लिगाले बार्सिलोनाको पक्षमा निर्णय लिए पनि मेसी भने बार्सिलोनामा बस्ने मनस्थितिमा छैनन्। मेसीले क्लबको अभ्यास सुरु गर्नुअघि गरिने कोरोना भाइरसको परीक्षण गर्न समेत अस्वीकार गरेका छन्मेसीलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रयास गरिरहेको छ। यस्तै फ्रेञ्च क्लब पिएसजी, इटालियन क्लब युभेन्ट्स र अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइनेड पनि मेसीलाई भित्र्याउने दौडमा छ।तर ला लिगाले भनेकै रिलिज क्लजमा भित्र्याउनका लागि ती क्लबहरू तयार छैनन्।