खाद्यान्न-तरकारी सकिएको छ? ग्रीन-ग्रोथले घरै ल्याइदिन्छ

समाचार

विश्व कोरोना भाइरसको सामना गरिरहेको छ। धेरै देश लकडाउनमा छन्। मंगलबारदेखि नेपालमा पनि लकडाउन सुरू भएपछि जनजीवन प्रभावित हुने नै भयो।सरकारले अहिले एक सातामात्रै लकडाउन भने पनि लम्बिने संकेत गरिसकेको छ। योसँगै जनतालाई खाद्य सामग्री आपूर्तिमा समस्या हुँदैन पनि भनिरहेको छ।तर काठमाडौं उपत्यकाका मार्ट, किराना पसल तथा तरकारी-फलफूल पसल हत्तपत्त खुल्दैनन्। खुलेका पनि रित्तिँदै छन्। उपभोक्ताले भण्डार गर्न मिल्ने खानेकुरा राखे पनि ताजा तरकारी-फलफूल पाएका छैनन्। बाहिरफेर हिँडेर किन्न मुश्किल छ।काठमाडौंका उपभोक्ताले भोगिरहेका यो समस्या समाधानमा ‘ग्रीन ग्रोथ’ ले पहल गर्ने भएको छ। ग्रीन ग्रोथ तरकारी तथा फलफूलको अनलाइन पसल हो। सामाजिक सञ्जाल फेसबुक, ट्विटर वा स्टोरको वेबसाइटमार्फत् आफूले घरै बसेर चाहिएका तरकारी-फलफूल र खाद्य सामग्री अर्डर गर्न सकिन्छ।अर्डर गरेका सामान लकडाउन बेला पनि घरमै पुर्‍याइदिने सुविधा दिएको र यसनिम्ति अनुमति लिएको कम्पनीले जनाएको छ।’अहिले कोरोना भाइरस संक्रमणको त्रास छ। सर्वसाधारणलाई बाहिर हिँड्न जोखिम छ,’ ग्रीन ग्रोथकी सामाजिक सञ्जाल व्यवस्थापक समिता कपाली आफ्नो सेवा खुलाउँदै भन्छिन्, ‘यस्तो अवस्थामा पनि हामी ग्राहकका घर-घरमा खाद्य सामग्री पुर्‍याइरहेका छौं।’

काठमाडौं, ललितपुर र भक्तपुरमा साताको तीन दिन सोमबार, बुधबार र शनिबार डेलिभरी सुविधा दिइरहेको उनले बताइन्। डेलिभरीका लागि तोकिएको शुल्क भने तिर्नुपर्छ।ग्रीन ग्रोथले काठमाडौंबासीलाई देशैभरिबाट संकलित ताजा तरकारी, फलफूल र दलहनजन्य खाद्यवस्तु उपलब्ध गराउन थालेको चार वर्ष भयो। त्यति मात्रै होइन पछिल्लो समय जुम्लाको सिमी झापामा र विराटनगरको चामल जुम्लामा समेत पुर्‍याउन थालेको छ।कम्पनीमा सामाजिक सञ्जाल र व्यवस्थापन समिताले, आर्थिक पाटो दीपिका ज्ञवालीले र ग्राहकका घर-घरमा सामग्री लैजाने जिम्मा निश्चल पोखरेलले पाएका छन्। र, सौरभ ढकाल र अर्का एक जनासहित ५ जनाको टोली ग्रीन ग्रोथमा आवद्ध छ।’सुदूरपश्चिममा उत्पादित खाद्य पूर्वका मान्छेलाई पनि खाने रहर होला नि। त्यो रहर ग्रीन ग्रोथले पूरा गरेको छ,’ कम्पनीको सेवाबारे निश्चल बताउँछन्, ‘सिन्धुलीको जुनार जुम्ला र जुम्लाको स्याउ-सिमी सिन्धुली, झापासम्म पुर्‍यायौं, त्यो हाम्रो सफलता हो।’यसले खाद्यान्न वितरण मात्रै गर्दैन, स्वास्थ्य दृष्टिले सुरक्षित भएको दावी समेत गर्छ। स्थापना समयमा अर्ग्यानिक तरकारी तथा फलफूल पूर्ति गरेको कम्पनीले अहिले सुरक्षित खाद्य सामग्री वितरण गरिरहेको बताउँछ।पछिल्लो समय भारतबाट आयातित तरकारीमा धेरै कीटनाशक औषधि प्रयोग भएको गुनासो बढेको छ। यसले पनि ग्रीन ग्रोथलाई बजार व्यवस्थापनमा मद्दत पुर्‍याइरहेको छ।हामीले सुरूमा हामीले अर्ग्यानिक भनेर बेचेका थियौं। त्यति बेलासम्म हाम्रो फार्म सरकारबाट अर्ग्यानिक प्रमाणित थियो,’ समिता भन्छिन्, ‘पछि त्यतिले मात्रै धान्न सकेन। सुरक्षित र गुणस्तरीय तरकारी उपभोक्तालाई पुर्‍याएका छौं।’ग्रीन ग्रोथ ‘स्टोरी साइकल’ समूहको एउटा अंग हो। यो समूह ०७२ को भुइँचालोअघि नै कथा खोज्दै जुम्लाका विभिन्न गाउँ पुगेको थियो। कथा सुन्ने र सुनाउने ‘क्याम्प’मा समूहले स्थानीय किसानलाई सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगबाट बजार खोज्न, स्थानीय सामान बेच्न, कसरी उत्पादन भयो भन्न, क्रेतासँग सम्बन्ध विस्तार गर्न सकिने बतायो।गाउँमै बसेर आफ्नो उत्पादन नाफासहित बेच्न सकिने कुरा सिंजाका किसानले त्यति पत्याएनन्।समिता भन्छिन्, ‘त्यसो हो भने हामीले पठाएका सामान बेचिदेऊ भनेर किसानहरूले चुनौती दिनुभयो। हामीले मान्यौं।’

कथा समूह काठमाडौं आएलगत्तै किसानले जुम्लाको मार्सी, सिमी, ओखर लगायत पठाइदिए। सामाजिक सञ्जालमा ‘ग्रीन ग्रोथ’ ह्यास ट्याग प्रयोग गरेर उनीहरूले सामग्रीका फोटा, मूल्य, उत्पादित स्थान सबै विवरण राखे।सानो परिमाणमा आएको मार्सी तत्कालै बिक्री भयो। काठमाडौंबाट फेरि मार्सी पठाइदेऊ भनेपछि जुम्लाका किसानले पनि विश्वास गरे। उत्पादन र वितरण मात्रा बढ्यो। एक चरणमा एक टन मार्सी र ओखर २ महिनामा काठमाडौंबाटै सिनित्तै बिक्यो। ग्रीन ग्रोथले बजार विस्तार गर्दै गयो।यसलाई संस्थागत रूप दिन ‘स्टोरी साइकल’कै पाँच सदस्य मिलेर ‘ग्रीन ग्रोथ’ स्थापना गरे।स्थानीयले हुँदैन, सकिँदैन भन्दै पठाएका केही उत्पादनबाट सुरू यो कामले निकै फड्को मारिसकेको छ। विभिन्न ठाउँका किसानले अचेल सामान सिधै काठमाडौं पठाउन थालेको समिता बताउँछिन्। त्यति मात्रै होइन, अन्य स्थानीय खाद्य सामग्रीको पनि बजार खोज्न थालेका छन् रे।’हामीले किसानलाई देखाउन र बुझाउन सामान ल्याएर बेचेका थियौं। पछि उहाँहरूले तपाईंहरू नै लगेर बेचिदिनुस् भन्नुभयो,’ समिता खुसी हुँदै सुनाउँछिन्, ‘किसानको यो किसिमको विश्वासभन्दा ठूलो खुसी हामीलाई के होला र!’उता काभ्रेको पातले गाउँको अर्ग्यानिक फार्मलाई ग्रीन ग्रोथको काम थाहा थियो। फार्मले विभिन्न प्रकारका तरकारी उत्पादन गरिरहेको थियो। त्यसबीचमा भुइँचालो आइदियो। फार्मको उत्पादन खपत हुन गाह्रो भयो। कतिसम्म भने बाटामै छिप्पिने र कुहिने भयो।काठमाडौंबासीको आवश्यकता र पातले गाउँको अर्ग्यानिक फार्मको संकट ग्रीन ग्रोथको लागि अवसर बन्यो। फार्म सञ्चालकले नै उत्पादित तरकारी नष्ट गर्नुभन्दा ग्रीन ग्रोथ स्टोरमा राखेर सामाजिक सञ्जालमा प्रवर्द्धन गर्न सुझाएका थिए।ग्रीन ग्रोथमा खाद्य सामग्री रहेको थाहा पाउने ग्राहक त्यो समयका लागि नियमित बने।दीपिका भन्छिन्, ‘एक जनाले अर्को ग्राहकसम्म हाम्रो कामको समाचार पुर्‍याउने काम गरे। सामाजिक सञ्जाल त छँदै थियो।’त्यो बेला उपत्यकाभित्रका तर सिनामंगलबाट अलिपर दूरी पर्ने ग्राहकले डेलिभरी गर्नुपर्ने सुझाए। कोटेश्वरस्थित ग्रीन ग्रोथसम्म तरकारी लिन मात्रै कलंकीबाट धाउनु सुविधाजनक नभएको गुनासो गरे।

‘हामीलाई पनि ग्राहक कुरेर बस्नु नपर्ने, ग्राहकलाई पनि स्टोरसम्म धाउनु नपर्ने सुझाव हामीलाई राम्रो लाग्यो,’ निश्चलले भने, ‘त्यसपछि केही शुल्क लिएर सातामा एक दिन घरमै पुर्‍याउने सुविधा थप्यौं। अहिले सातामा तीन दिन छ।’भुइँचालोलगत्तैको नाकाबन्दी पनि ग्रीन ग्रोथका लागि अवसर बनेर आएको थियो। प्रायः नेपालीका लागि कहर बनेको त्यो समय ग्रीन ग्रोथका लागि सफलताको घुम्ती बन्न पुगेको भन्न रुचाउँछन् उनीहरू।अहिले चौतर्फी लकडाउनमा पनि खाद्यान्न, तरकारी आपूर्तिमा कठिनाइ झेलिरहेका उपभोक्तालाई ग्रीन ग्रोथले सेवा दिने बताएको छ।’बारम्बार आउने यस्ता विपद् र आयातमा हुने कठिनाइ हामीले सामना गरिरहेका छौं,’ निश्चल भन्छन्, ‘अब भने उपभोक्ताले पनि विस्तारै स्थानीय उत्पादन प्रयोग गर्नुपर्छ भन्ने धारणा बसिरहेको छ। किनकि हामी सबैजसो समस्यामा साथै छौं।’ग्रीन ग्रोथसँग सामाजिक सञ्जाल फेसबुक, ट्विटर वा स्टोरको वेबसाइटमार्फत् सम्पर्क गर्न सकिन्छ।