ब्राभोका टी–२० फर्म्याटमा पाँच सय विकेट

खेलकुद

वेस्टइन्डिजका मध्यमगतिका बलर ड्वाने ब्राभो टी–२० क्रिकेट फर्म्याटमा पाँच सय विकेट लिने पहिलो बलर बनेका छन् ।सन् २००६ मा टी–२० खेलमा डेब्यु गरेका ब्राभोले बुधबार क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा यो उपलब्ध हात पारेका थिए ।जमैकामा चलिरहेको सिपिएल टी–२० मा ब्राभो ट्रिनबागो नाइटराइडर्सबाट खेल्छन् । उनले सेन्ट सुसिया जुक्सका क्रोनबेलको विकेट लिँदै टी–२० फर्म्याटमा पाँच सय विकेट पूरा गरेका हुन् । त्यही विकेट नै सिपिएलमा उनको १ सय १औँ विकेटका रूपमा रह्यो । ३९ वर्षीय ब्राभोले १६ वर्षको करिअरमा टी–२० खेलमा अहिलेसम्म चार सय ५९ खेल खेलका छन् । यसक्रममा उनले ४ सय ४० इनिङ्समा २५.५८ को औसत राखी पाँच सय एक विकेट हात पारे । उनले यस फर्म्याटमा दुईपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । नौपटक उनले चार विकेट लिए । अहिलेसम्म उनले एक हजार चार सय ९३ ओभर बलिङ गरे । टी–२० मा दोस्रो सफल बलर हुन्– श्रीलंकाली लथिस मलिंगा । मलिंगाले दुई सय ९५ खेलबाट  तीन सय ९० विकेट लिएका छन् ।

टी–२० खेलमा पाँचपटक उनले पाँच विकेटको प्रदर्शन गरेका छन् । ब्राभोभन्दा दुई वर्षअघि डेब्यु गरेका मलिंगाले टी–२० खेलमा ६–७ को उत्कृष्ट प्रदर्शन गरेका छन् । वेस्टइन्डिजका सुनील नारिन तीन सय ८३ विकेटका साथ तेस्रो स्थानमा छन् ।२०११ को सत्रमा टी–२० मा डेब्यु गरेका नारिनले तीन सय ३९ खेलमा २३ मेडन ओभर गरेका छन् । कीर्तिमानी बलर ब्राभोले आफ्नो करिअरमा २१ विभिन्न टोलीबाट प्रतिस्पर्धा गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज प्रतिस्पर्धामा ब्राभोले तीन सय १२ फरक खेलाडीलाई पेभेलियनको बाटो देखाएका छन् । ब्राभोले कीर्तिमानभन्दा पनि टोलीलाई उपाधि दिलाउनु नै प्रमुख उद्देश्य रहेको बताएका छन् ।‘कीर्तिमान आफैँमा राम्रो हो, तर मलाई उपाधि जित्नु र दिलाउन मन लाग्छ,’ क्यारेबियन एजेन्सीसमक्ष ब्राभोले भने, ‘हामी बलरहरूको प्रयास नै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्नु हो ।’टी–२० फर्म्याटमा तीन सय तथा चार विकेट लिने पहिलो बलर ब्राभो नै हुन् । अस्ट्रेलियन बलर डिर्कले टी–२० फर्म्याटमा सय तथा दुई विकेट कोसेढुंगा पार गर्ने पहिलो बलर थिए ।

ब्राभोले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रा उत्कृष्ट र स्मरणीय भएको जनाएका छन् । उनी भन्छन्, ‘मेरो यात्रा अहिलेसम्म उत्कृष्ट रह्यो, मेरो यस सफलतामा साथ दिने सबैलाई धन्यवाद छ, विशेषतः मैले पाँच सय विकेटको कीर्तिमान आफ्नो घरमै राख्न पाएँ, यसमा म धेरै खुसी छु ।’ ब्राभोले क्यारेबियन प्रिमियर लिगमा एक सय ४७ विकेट लिएका छन् । सन् २०१३ र २०१५ को सिजनमा चेन्नई सुपर किंग्सका लागि सर्वाधिक विकेट उनले लिएका थिए । ब्रायन लाराको कप्तानीमा वेस्टइन्डिज टोलीबाट डेब्युको अवसर पाएका ब्राभोले सुरुमा ब्याटिङ क्षमता देखाए । विस्तारै उनले आफूलाई अलराउन्डरमा परिणत गरे । २१ वर्षको उमेरमा उनले लर्डस् मैदानमा इंग्ल्यान्डविरुद्धको टेस्टमा डेब्यु गरे । ब्रोभाले चोटका कारण नै रातो बलबाट खेल्ने टेस्ट खेलबाट छिटै सन्न्यास लिए । त्यसपछि उनी टी–२० खेलमै केन्द्रित रहे ।

२०१० मा किरन पोल्यार्डले बोर्डलाई खेलाडीसँग सम्झौता गराउनमा ब्राभोले विशेष भूमिका निर्वाह गरेका थिए । यो दश वर्षभित्र ब्राभोले आफूलाई टी–२० फर्म्याटकै राम्रा खेलाडीका रूपमा विश्वलाई चिनाए । यो एक दशकमा विभिन्न राष्ट्रले आयोजना गरेका टी–२० फ्रेन्चाइज लिगमा ब्राभोले सहभागिता जनाएका छन् ।